Thursday 01 Oct, 2026
...
...

About Us

नेपाल मौसम विज्ञान विभाग

परिचय

नेपाल मौसम विज्ञान विभाग (Nepal Meteorology Department- NMD) नेपाल सरकारको मौसम, हवाई मौसम तथा जलवायु विज्ञानसम्बन्धी सेवा सञ्चालन, विकास, विस्तार तथा नियमन गर्ने राष्ट्रिय स्तरको एक आधिकारिक निकाय हो। यस विभागले वास्तविक समयमा आधारित मौसम केन्द्र (Automatic Weather Station) संजाल, रेडियोसोण्ड (Radiosonde), मौसम राडार (Weather RADAR), भू-उपग्रह संचार (Satellite Communication), गणितिय मौसम पूर्वानुमान (Numerical Weather Prediction), HPC (High Performance Computing) Server लगायतका विशिष्टीकृत प्रणाली सञ्चालन गरी मौसम तथा जलवायु तथ्याङ्क संकलन तथा व्यवस्थापन, मौसम तथा हवाइ मौसम पूर्वसूचना,पूर्वानुमान/चेतावनी, हिम/पर्वतीय मौसम, कृषि मौसम, जलवायु, तथ्यांक विक्रि वितरण, अध्ययन अनुसन्धान तथा सूचना र सेवा प्रवाह सम्बन्धी कार्य गर्दछ। यस विभागले National Meteorological Service (NMS) को रुपमा विश्व मौसम संगठन (World Meteorological Organization) तथा अन्त‍राष्ट्रिय नागरिक उडडयन संगठन (International Civil Aviation Organization) बाट तोकिए बमोजिमको मापदण्ड भित्र रहेर देशका प्रमुख विमानस्थलहरुबाट मौसम सम्बन्धि सेवा प्रवाह गर्दै मौसम तथा हवाइ मौसम सम्बन्धि तथ्यांक, सूचना, पूर्वानुमान/चेतावनी समेत आदान प्रदान गर्दै आइरहेको छ। मौसम तथा जलवायुजन्य जोखिमबाट नागरिकको जीवन तथा सम्पत्तिको संरक्षण, विपद् जोखिम न्यूनीकरण, कृषि, पर्यटन, उड्डयन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य, वातावरण तथा अन्य आर्थिक-सामाजिक क्षेत्रमा मौसम तथा जलवायु सूचनाको प्रभावकारी उपयोग सुनिश्चित गर्नु विभागको प्रमुख जिम्मेवारी हो।

पृष्ठभूमि

नेपालमा भारत मौसम विज्ञान विभागबाट भारतिय दुतावस परिसरमा बि.स. १९७८ (सन् १९२१) मा पहिलो वर्षा मापन केन्द्र स्थापना भइ तथ्यांक संकलन कार्य प्रारम्भ भएको थियो। ततपश्चात,  बि.स. १९९७ (सन् १९४०) मा सुन्दरिजल जलविद्युत आयोजना परिसरमा दुइवटा वर्षा मापन केन्द्र स्थापना भएको थियो। त्यसै वर्षदेखि एक दशकको अवधिमा भारत मौसम विज्ञान विभागले कुल १०४ वटा मौसम केन्द्र स्थापना  गरेको थियो। वि.सं २०१० मा भारतिय कंपनिले नेपालमा अमेरिकामा बनेको तीनबटा DC-3 Dakota जहाजबाट व्यापारिक हवाईसेवा शुरु गरेको थियो। हवाई उडान र अवतरणको लागि हवाई मौसम सेवा अपरिहार्य हुने र सो समयमा नेपालमा हवाई मौसम प्रदान गर्ने निकाय स्थापना भै नसकेको अवस्थामा त्रिभुवन विमानस्थल अर्थात त्यसबेलाको गौचरणमा अवस्थित भारत मौसम विज्ञान (India Meteorological Department) को Supplementary Meteorological Office ले हवाई सेवाको लागि चाहिने आवश्यक मौसम सेवा प्रदान गर्ने गर्दर्थ्यो। नेपालमा मौसम सम्बन्धि सेवा प्रदान गर्ने आधिकारीक निकाय स्थापना गर्न नेपाल सरकारको औपचारिक आग्रहपछि विश्व  मौसम संगठन ( World Meteorological Organization) ले  बि.सं २०२१ (सन् १९६५) मा इजरायल मौसम सेवाका महानिर्देशक M. Gilead  लाई प्राविधिक विज्ञको रुपमा नेपालमा पठायो। लामो गृहकार्यपछि बि.स. २०२३ मा नेपालमा औपचारिक रुपमा मौसम सम्बन्धि सेवा प्रवाह गर्ने उद्देश्यका साथ नेपाल सरकारको आधिकारिक निकाय स्थापना भै सोही वर्ष नेपालले वि.सं. २०२३ श्रावण २८ गते (सन् १९६६ अगस्ट १२) विश्व मौसम संगठन (WMO) को सदस्यता प्राप्त गर्‍यो, जसको फलस्वरुप राष्ट्रिय मौसम सेवा (National Meteorological Service) को आधिकारिता निकायको रुपमा नेपालले आफुलाई प्रस्तुत गर्न सफल भएको थियो।

प्रारम्भदेखि मौसम सम्वन्धि निकाय नेपाल सरकारको विभिन्‍न विभागको शाखा र महाशाखाको रुपमा रही  वि.सं. २०२४ (सन् १९६७) सालमा जलस्रोत तथा जलवायु विज्ञान विभाग (Department of Hydrology and Meteorology) को स्थापना भएसँगै नेपालले देशभर मौसम अवलोकन केन्द्रहरूको विस्तार गर्यो। भारत मौसम विज्ञान विभागबाट राखिएका मौसम केन्द्रहरुको संग संगै समेत नेपालले मौसम केन्द्रहरु स्थापना गरेपश्चात भारत मौसम विज्ञानबाट स्थापना भएका मौसम केन्द्रहरुको केन्द्र व्यवस्थापनमा उदासिनता देखाएको कारणबाट स्वतः विस्थापित हुँदै गयो। WMO सदस्यतासँगै नेपाल अन्तर्राष्ट्रिय मौसम विज्ञान प्रणालीमा आबद्ध भई मौसमसम्बन्धी सूचना आदानप्रदान, अन्तर्राष्ट्रिय प्राविधिक मापदण्ड तथा विशेषज्ञ सहयोग, तालिम र क्षमता विकासका अवसरमा पहुँच विस्तार गर्न सफल भयो, जसले नेपालको मौसम विज्ञान सेवाको विकास तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप संस्थागत आधार प्रदान गर्‍यो। यसको साथै नेपालले WMO को डाटा संजाल (Global Telecommunication System) मा आवद्ध भइ विश्वसंग दैनिक रुपमा उच्च वायुमण्डलीय केन्द्र (Radiosonde) तथा सिनोप्टिक केन्द्रका डाटा प्राप्त आदान प्रदान शुरु गर्यो। सोही डाटा विश्लेषणको आधारमा नेपालले वि.सं. २०२४ (सन् १९६७) मा काठमाडौं उपत्यकाका लागि पहिलो मौसम पूर्वानुमान जारी गरियो। त्यसै गरी, वि.सं.२०२७ साल पौषदेखि (सन् १९७०) त्रिभुवन विमानस्थलबाट पहिलो पटक हवाई मौसम सेवा (Aeronautical Meteorological Service) प्रदान गर्न प्रारम्भ गरिएको थियो।

नेपाल सरकारको विभिन्‍न मन्त्रालय अन्तर्गत विभिन्न निकायको रुपमा रहेको राष्ट्रिय मौसम सेवालाई बि. सं २०४४ सालमा जलवायु विज्ञान विभागको रुपमा पुनः छुट्टै संस्थाको रुपमा स्थापना भएको थियो भने बि.सं २०५० सालमा विभागको नाम परिवर्तन भइ जल तथा मौसम  विज्ञान विभाग कायम भएको थियो। हाल नेपाल सरकारको मिति २०८३।०३।३२ को निर्णय अनुसार संगठन पुनर्संरचना गरी नेपाल मौसम विज्ञान विभाग (Nepal  Meteorological Department) को स्थापना भएको छ।

दीर्घकालीन सोच

सबैका लागि समयमै गुणस्तरीय र विश्‍वसनीय मौसम, हवाइ मौसम तथा जलवायु सेवा।

लक्ष्य

वैज्ञानिक तथा नवीनतम प्रविधिमा आधारीत गुणस्तरीय मौसम, हवाइ मौसम तथा जलवायु सेवाको विकास र विस्तार गरी जीउधनको सुरक्षा, दिगो विकास तथा मौसम उत्थानशील समाज निर्माणमा सहयोग पुर्‍याउने ।

उद्देश्य

  • पर्याप्त मौसम अवलोकन केन्द्रको स्थापना, तथ्याङ्क एवं सूचना सङ्‌कलन, भण्डारण, प्रशोधन र सम्प्रेषण कार्यको भरपर्दो र सुरक्षित व्यवस्थापन गर्ने ।
  • मौसम, हवाइ मौसम तथा जलवायुसम्बन्धी गुणस्तरीय, विश्‍वसनीय र पहुँचयुक्त सेवा उत्पादन, विकास र विस्तार गर्ने।
  • मौसमजन्य विपद् र जलवायु परिवर्तनबाट हुने जोखिम तथा क्षति न्यूनीकरण गर्ने ।
  • मौसम, हवाइ मौसम तथा जलवायु सेवाको विकास तथा विस्तारको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय र सहकार्यलाई अगाडि बढाउने |

रणनीति

  • पर्याप्त मात्रामा आवश्यक भौतिक संरचना तथा नवीनतम प्राविधिक पूर्वाधारको प्रयोग, विकास तथा विस्तार गरी मौसम मापन केन्द्रहरूको राष्ट्रिय सञ्‍जाल विकास, विस्तार र दिगो व्यवस्थापन  गरिनेछ।
  • मौसम विज्ञानसम्बन्धी तथ्याङ्क तथा सूचना सङ्‌कलन, प्रशोधन, भण्डारण र सम्प्रेषण कार्यलाई वैज्ञानिक रूपमा व्यवस्थापन गरिनेछ।
  • आम नागरिक तथा विषयगत क्षेत्रको आवश्यकता सम्बोधन हुने गरी वैज्ञानिक आधारमा मौसम, हवाइ मौसम तथा जलवायु सेवाको उत्पादन, विकास र विस्तार गरी सुलभ र पहुँचयोग्य बनाइनेछ।
  • मौसम विज्ञानको विकासका लागि नवीनतम प्रविधिको प्रयोग र प्रवर्धन, अध्ययन-अनुसन्धान एवं अन्वेषणलाई प्राथमिकता दिइनेछ।
  • मौसमजन्य विपद् तथा जलवायु परिवर्तनबाट हुने जोखिम तथा क्षति न्यूनीकरण गर्न पहुँचयुक्त बहुप्रकोपीय पूर्वानुमान तथा पूर्वसूचना प्रणालीको स्थापना तथा सञ्‍चालन गरिनेछ।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आबद्धता, सहयोग र सहकार्यलाई प्रवर्धन गर्दै मौसम सेवा सबलीकरणका लागि संस्थागत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्‍चालन गरिनेछ।

प्रमुख कार्यहरू

  1. मौसम, हवाई मौसम तथा जलवायुसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, तथ्याङ्क तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा नियमन गर्ने ।
  2. देशभर मौसम अवलोकन सञ्जाल (वर्षामापन, हावापानी, कृषि मौसम, सिनोष्टिक/एरोसिनोष्टिक, उच्च पहाडी/हिमाली केन्द्रलगायत) स्थापना, विस्तार तथा सञ्चालन गरी तथ्याङ्क सङ्कलन, गुणस्तर परीक्षण, प्रशोधन, विश्लेषण, अभिलेखीकरण, व्यवस्थापन, प्रकाशन तथा वितरण गर्ने ।
  3. मौसम पूर्वानुमान तथा गणितीय मौसम पूर्वानुमान (NWP) प्रणाली सञ्चालन र विकास गरी नियमितदेखि विषम तथा चरम मौसम अवस्थासम्मको पूर्वानुमान सेवा विस्तार गर्ने ।
  4. भारी वर्षा, चटमाङ, हुरीबतास, असिना, हुस्सु/कुहिरो, शीतलहर, तातो हावा, हिमपातजस्ता मौसमजन्य जोखिमको अनुगमन, Nowcasting तथा पूर्वानुमान गरी प्रभावमा आधारित (Impact Based) तथा बहुप्रकोपीय (Multihazard) पूर्वसूचना सेवा सञ्चालन गरी विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा सहयोग गर्ने ।
  5. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार उड़्डयन मौसम सेवा सञ्चालन गरी हवाई मौसमसम्बन्धी सूचना, पूर्वानुमान तथा चेतावनी उपलब्ध गराउने र नियमित मूल्याङ्कनका आधारमा सेवा गुणस्तरमा निरन्तर सुधार गर्ने ।
  6. नेपालको हिमाली तथा पहाडी भू-बनावटअनुरूप En-route Aviation Meteorological Service, route forecast, turbulence, wind shear, mountain wave, low visibility जस्ता उडड्यन मौसमजन्य जोखिमसम्बन्धी सेवा विकास तथा विस्तार गर्ने ।
  7. मौसम राडार, रेडियोसोन्ड, चटमाङ पहिचान सञ्जाल तथा अन्य आधुनिक मौसम अवलोकन प्रणाली स्थापना, सञ्चालन, मर्मतसम्भार, तथ्याङ्क एकीकरण तथा सेवा विकास गर्ने ।
  8. जलवायु तथ्याङ्कको विश्लेषण, प्रवृत्ति तथा परिवर्तनको अध्ययन र जोखिम/प्रभाव मूल्याङ्कन गरी कृषि, ऊर्जा, स्वास्थ्य, पर्यटन, विपद् व्यवस्थापनलगायत क्षेत्रका लागि क्षेत्रगत जलवायु सूचना तथा सेवा उपलब्ध गराउने ।
  9. आगामी ऋतुको वर्षा, तापक्रम तथा अन्य जलवायु अवस्थाको ऋतुगत पूर्वानुमान, दीर्घकालीन जलवायु परिवर्तनको प्रक्षेपण तथा खडेरी, तातो र चिसो लहरजस्ता जलवायुजन्य जोखिमको सूचना विकास तथा उपलब्ध गराउने ।
  10. हिमाली पर्यटन, पर्वतारोहण, पदयात्रा, छजाँ, सुरक्षा तथा विपद् व्यवस्थापनलगायतका लागि हिमाली तथा क्षेत्रगत (Mountain and Sectoral) मौसम सेवा विकास तथा विस्तार गर्ने ।
  11. रियलटाइम मौसम तथ्याङ्क व्यवस्थापन तथा डिजिटल मौसम सेवा विकास गरी केन्द्रीय तथ्याङ्क प्रणाली, सभर, नेटवर्क, API, वेब पोर्टल तथा मोबाइलमार्फत सूचना प्रवाह गर्ने ।
  12. मौसमजन्य बीमा दाबी, विकास आयोजना, पूर्वाधार निर्माण तथा अनुसन्धानलगायतका लागि मौसम तथ्याङ्क प्रमाणीकरण तथा सेवाग्राही सेवा प्रदान गर्ने ।
  13. प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी स्थानीयस्तरमा मौसम, जलवायु, कृषि-मौसम, पूर्वसूचना तथा क्षेत्रगत मौसम सेवा विस्तार गर्ने ।
  14. मौसम, हवाई मौसम तथा जलवायु विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धान, पूर्वानुमान प्रमाणीकरण, मोडल मूल्याङ्कन तथा प्रविधि विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरी अभिलेख राख्ने ।
  15. सेवा विकास, गुणस्तर व्यवस्थापन तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि WMO, ICAO लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय, सहकार्य तथा सूचना आदान-प्रदान गर्ने ।